धेरै दिन पछि आज बिहानै मैले बिक्रान्तलाई रत्नपार्कमा भेटें । उ आफ्ना छोरा
छोरि र आफ्नि अर्धाङ्गिनि संगै थियो । गुपचुप देखिन्थ्यो थाहा छैन के भएको छ । धेरै समय पछि देखेको कारणले होला म भित्र एक
किसिमको ढ्याङ्ग्रो बजिरहेको अनुभब मैले गरिरहेको थिएँ ।
म चाहन्थें एकनासले उनैलाई हेरिरहुँ अफसोच त्यो चाहना चाहनै मात्र रह्यो । म
सक्दिन उस्को नजिक हुन । म सक्दिन मन भित्रका उतार चडावहरु खुलस्त भन्न तर धेरै
समय पछिको भेट नै काफि थियो मेरो लागि ।
मलाइ देख्ने बित्तिकै टाढै बाट बिक्रान्त मुसुमुसु हास्यो र हातको इसाराले आफु
तिरै डाक्यो - कञ्चन यतै आउ न । म दोधारमा परें जाउँ या नजाउँ तर मनले कहाँ मान्छ
र लुरुलुरु उस्कै समिपमा गएँ ।
कञ्चन उनि मेरि अर्धाङ्गिनि समिक्षा , अनि ठुलि छोरि अर्पिता र छोरा प्रणव । उस्ले राम्रै संग चिनाजानि गरायो । मैले
पनि हाँसि हाँसि बोलिदिएँ नमस्कार सँगै ।
थाहा छैन किन, सधै झैं म आज
खुलेर बिक्रान्त सँग बोल्न सकिरहेकि छैन न उस्को अनुहार हेरर हाँस्न नै । सायद
मलाइ जस्तै आज उस्लाइ पनि पक्कै भएको छ त्यसैले त उ हडबडाउदै के के बोल्दै छ ।
कहिले आफ्नि अर्धाङिनि तर्फ हेर्दै त कहिले आफ्नै बालबच्चा तिर हेर्दै । उ फेरि
भन्छ, समिक्षा कञ्चन मेरि
असाध्यै मिल्ने साथि हो ।
उनि मेरो १० बर्ष अगाडि देखिको पुरानो साथि । हाम्रो पहिलो भेट पोखराको एउटा
रिसोर्टमा भएको थियो कार्यक्रमको सिलसिलामा । बास्तबमा भन्ने नै हो भने उन्को मधुर
आवाजले नै हामिलाइ नजिक ल्याएको थियो । कार्यक्रमको अन्त्यमा गित गजल गाएकि थिइन्
उन्ले ।
बिक्रान्तको कुरा नटुङ्गिदै समिक्षाले कुरा थपिन्- हिजो बेलुकामात्र तपाइको
कुरा गर्नु भएको थियो उहाँले आजै भेट हुन रहेछ ।
उन्को आवाज सुनेर लाग्थ्यो उनिहरु अलि हत्तारम छन् । बिक्रान्त केहि नबोलेर
पनि धेरै कुरा गर्दै थियो मनसँग सायद उ एक्लै भेट्न चान्थ्यो मलाइ अनि भन्न बाँकि
धेरै कुरा सुनाउन चाहन्थ्यो ।
मलाइ पनि त्यति सहज भएको थिएन आज । साच्चै भन्ने हो भने मलाइ कहिले छुट्टिउँ
भएको थियो उनिहरुसँग ।
आज फेरि मलाइ बिक्रान्तले भनेको उहि कुराको याद आयो । कञ्चन तिम्रो र मेरो भेट
हुनु अलि ढिला भयो नत्र तिमिलाइ नै मेरि अर्धाङ्गिनि बनाउथें । उस्ले ठट्टा गर्दै
बोलेको कुरा हो , तर मलाइ भने
उस्ले भित्री मनबाटै बोलेको जस्तै लागिरहन्छ सधैं । हामि बिच न धेरै कुराकानि
हुन्छ न भेट घाट नै र पनि धेरै नजिक छौं हामि एक अर्काको ।
उ बारम्बार मसंगको कुराकानिमा समिक्षाको नाम लिइरहन्छ । हो उ आफ्नि
अर्धाङ्गिनिलाइ धेरै प्रेम गर्छ आफुलाइ भन्दा पनि बढि त्यसैले त उ सधैं खुसि
देखिन्छ अनि सुखि ।
हरेक भेट हाम्रो लागि अपुग हुन्थ्यो । समय कति चाँडै सकिन्थ्यो पत्तै हुन्न
थ्यो । कफि चिसो हुँदा सम्म पनि हामि गफ्फिदै हुन्थौं । बास्तबमा म मनै देखि खुसि
हुन्थें बिक्रान्तलाइ आफु सामु पाउँदा ।
बुद्दु छ बिक्रान्त । कहिले काँहि गालि गर्दा मैले बुद्धु भनेर कराउँछु तर उ
मुसुक्क हाँसेर टारिदिन्छ । मलाइ त्यो दिनको धेरै याद छ । जुन दिन हामि खोलाको
किनारामा बसेर राति अबेर सम्म ताराहरु गन्दै आ-आफ्ना तिता मिठा गफहरु गरेका थियौं
। अनि बिक्रान्त अलि भाबुक बन्दै जाँदा मैले उस्को हात समातेर भनेको थिएँ । बिक्रान्त -तिमी पहिलो जुनिमा पनि मेरै साथि
थियौ होला है ? यतिकै मिल्ने अनि यति धेरै माया गर्ने ।
बिक्रान्त को मौन समर्थन देख्दा लाग्थ्यो उ पनि यस्तै के सोच्दै थियो मन मनै ।
त्यो समय देखि हाम्रो भेट भृकुटि मण्डपमा लक्ष्मि दिदि को चिया पसलमा मात्रै हुने
गरेको छ । र हिजो आज त्यहि भेट पनि पातलिदै गएको छ सायद, हामि दुबैको ब्यस्तकाको कारणले पनि होला ।
उ मेरो धेरै नजिक छ र पनि मलाइ उस्को नजिक जान किन किन डर लाग्छ । "प्रेम
गरेको हरेक बस्तु प्रिय हुन्छन्" तर ति सबै सधैं साथमै हुनु पर्छ भन्ने पनि
छैन । टाढै बाट पनि निकटताको महसुस गर्न सकिन्छ । मलाइ लाग्छ - सुन्दर सपना, सुन्दर बस्तुहरु र सुन्दर देखिने सबै चिजहरु क्षणिक हुन् तिनिहरुले थोरै खुसि
र धेरै पिडाहरु दिन्छन् त्यसैले त्यस्को पछि लाग्नुको कुनै अर्थ छैन ।
कञ्चन, अब हामि हिड्छौं । एकजना
नातेदारको घरमा सानो भोज छ आज समयमै पुगिएन भने फेरि भनाई खानु पर्छ साथिभाइको ।
बिक्रान्त धेरै मेहेनति छ अनि सरल पनि उस्तै छ । उस्को अर्धाङ्गिनि पनि लाग्यो
बिक्रान्त भन्दा केहि फरक छैन ।
हामि छुटियौं मन बाट हैन मात्र भौतिक शरिरबाट । कस्तो सम्बन्ध हो यो ? म मनमनै सोच्दै थिएं । संगै हुँन पनि नसक्ने र
छुट्न पनि नसक्ने ।
बिक्रान्तलाइ टाढा पुगुन्जेल सम्म हेरिरहें । कत्ति खुसि छ उ आज छोरा छोरि संग
। पक्कै पनि धेरै लामो समय पछि यसरि हिडेको छ उ स-परिवारसंगै खुसि साँट्दै । मैले
पनि मन मनै खुसि बाँडे बिक्रान्त सँग त्यसैले त धेरै दिन देखि गरुङ्गो भएको मन आज
हलुको भएको छ । काँडै झिके जस्तो ।
यहाँ हरेक कुराहरु परिबर्तन हुन्छ र भएका छन् तर बिक्रान्त आज सम्म पनि उस्तै छ
जस्तो उ १० बर्ष अगाडि थियो । बिक्रान्त सँधै म
खुसि र सुखि रहेको सुन्न र देख्न चाहन्छ । कुनै दिन बिरामि परेको खबर सुन्यो भने
मुर्छा पर्छ रे भन्थ्यो भेटमा त्यसैले त म बिरामि परेको खबर सकेसम्म उ सम्म पुग्न
दिन्न । किन कि म पनि उ खुसि भएको हेर्न चाहन्छु र आफ्नो पिडा आफै एक्लै पिउन
चाहन्छु सोमरस झैं गरि ।
अघि भर्खर त ठिकै थियो तर एक्कासि खै के भो के भो मलाइ । आज पटक्कै मन छैन घर
फर्कने । मेरो मन अशान्ति भयो भने पशुपति नाथको मन्दिरमा पुग्ने गर्छु । जाहाँ म
रमाउने गर्छु एक्लै एक्लै र भुल्ने गर्छु सबै दुख पिडा । भन्नै पर्दा एक किसिमको
शान्ति मिल्छ मलाइ भित्रै देखि । हो , आज मैले त्यहि गरें । जुन कुरा गर्दा मलाइ आनन्द मिल्छ, शान्ति मिल्छ । जब म पसुपतिको ओरिपरि घुम्छु । त्यहाँको
हरेक बस्तुले मलाइ बिस्तारै बिस्तारै छुन्छ अनि म त्यस्मै लिन हुन पुग्छु ।
त्यहाँ जलाइ रहेका शबहरु सँग सँगै कहिले काहि लाग्छ म आफै जलिरहेछु र उडिरहेछु
हावामा उहि धुवाँ बनेर कसैले छुन नसक्ने गरि पुग्छु माथि माथि धेरै माथि । कहिले
कुनामा एउटा झोला च्यापेर बस्ने बुढि आमा मेरै हुन् जस्तो लाग्छ र उन्को आँखाबाट
पोखिएको आँशु मेरै हो जस्तो लाग्छ । म त्यहाँ बादरको इसारामा रमाउछु , जोडिहरुको प्रेम देखेर खुसि हुन्छु अनि भगवानको
समिप छु त्यसैले झन आनन्दित हुन्छु एक्लै एक्लै आफै सँग ।
मैले खुसुक्क एक दिन बिक्रान्तको फोटो मेरो मोबाइलमा कैद गरेकि थिएँ उस्ले
पत्तो नपाउने गरि हो, अहिले म त्यहि
तस्बिर संग एकल संवाद गरिरहेकि छु । अचानक भएको भेट । समयको अभाव । आफ्नि
अर्धाङ्गिनि सँगै छोरा छोरि को साथमा बिक्रान्त । शहरका गल्लि गल्लिमा धेरै मिठा
सपना बाड्ने हरु भेटिन्छन् यहाँ तर बिक्रान्त जस्तो ब्यक्ति कोहि भेटिन्नन् यो
स्वार्थि शहरमा । त्यसैले त बिक्रान्त अरु भन्दा धेरै फरक छ ।
हाम्रो साइनो मिठो छ तर यो साइनोको नाम दिन आज सम्म पनि सकेको छैनौं हामि
दुबैले । सायद, जिबन भर सकिन्न
पनि होला । हृदय भित्र अमिट भएर
बस्ने छ सँधै सँधै ।
म खोजि रहेछु अधर अधरमा अफसोच छैन म सँग बिक्रान्त । थाहा छैन कहिले काँहि त म
किन यति धेरै पागल बन्छु । म मेरो खुसिको निम्ति बिक्रान्तको जिबनलाइ कहिल्यै असर
गर्ने छैन । म सँधै उस्को खुसियालिको लागि भगवान सँग हात फैलाउने गर्छु । र यहि
भन्छु मेरो बिक्रान्त सँधै यस्तै रहोस जस्तो उ आज सम्म छ । राम्रो मान्छेको जिवन राम्रै हुन्छ । थाहा छैन फेरि अब
हाम्रो भेट कहिले हुन्छ र कहाँ तर पनि म सम्झिरहनेछु, उस्को मायाँ , म प्रतिको सम्मान । तर जिन्दगि भर म आफैले आफैलाइ प्रश्न गर्न भने कहिलै
छोड्ने छैन ।
आँखिर यो कस्तो मिलन ? यो कस्तो माया ? अनि के छ हाम्रो साइनो ?
हो , बिक्रान्त कुन साइनो ले
बोलाउँ म तिमिलाइ …………………..???